Aug 26, 2020

कोमामा विश्वव्यापिकरण

बस्तु, विषय र विचारलाई विश्वव्यापि बनाउने एउटा अदृश्य प्रवृत्ती वा प्रक्रिया मानिन्छ विश्वव्यापिकरणलाई। यसबाट लाभ लिन सक्नेहरु सकरात्मक पक्षपोषण गर्दछन र नसक्नेहरु यसप्रति नकरात्मक धारणा बनाँउछन। तर सन् २०२० को सुरुवातिसँगै वैश्विक महामारीको रुपमा द्रुत रुपमा कोभिड-१९ रोगको अनपेक्षित फैलावटसँगै विश्वव्यापिकरण सम्बन्धमा अनेकन बहसहरु चल्न थालेका छन। के विश्वव्यापिकरण कोमा (प्रगाढ बेहोशी/अचेतन अबस्था) मा नै गएको हो त ?  महामारी र यसका असरहरु साम्य भईसकेपश्चात महामारी पुर्व जस्तै सम्पुर्ण गतिविधिहरु पुर्नजार्गित हुनेछन त? विभिन्न राष्ट्र र कम्पनीहरुले लिने वैदेशिक लगानी, पुँजी परिचालन लगायतका नितिहरु पहिलेको जस्तै होलान त ? मानिसहरुको आवतजावत पहिलेजस्तै होला त ? यि प्रश्नहरुको जवाफ समयसँगै आउनेछन यहि अबस्था हुन्छ भनी अहिलेनै अबक्षेपण गरिहाल्नु त्यति सान्दर्भिक नहोला। विश्वव्यापिकरणको सिद्धान्त जस्तै यो कोरोनाभाईरस पनि न कुनै राज्य वा सरकारको वशमा रह्यो, न कसैको चाहनामा निर्भर, न त कुनै जात, वर्ण, धर्म, पेशा वा थरमा सिमित, न आर्थिक हैसियतमा परिमित, उत्पत्तिको केहि दिनमै विश्व स्वास्थ्य संगठनबाट बैश्विक महामारीको रुपमा घोषित भयो र विश्वको जुनसुकै कुनाका मानवजातिको लागि खतराको रुपमा चित्रित भयो।

विश्वव्यापिकरणको चरित्र उल्लेख गर्दा यो कुनै राज्यले चाहन्छ वा चाहँदैन भन्ने कुराले कुनै अर्थ राख्दैन। यसलाई सकरात्मक रुपमा लिएर परिचालन र ब्यावस्थित रुपमा अबलम्बन गर्न सकेमा फाईदा नत्र क्षति। यो बहुआयामिक प्रक्रियाको तुलनात्मक रुपमा सबल पक्ष भनेको आर्थिक पक्ष हो। आर्थिक क्षेत्रमा गरिएको व्यापक परिबर्तनको प्रभाव अवश्य पनि राजनीतिक, सामाजिक र साँस्कृतिक क्षेत्रमा पर्न जान्छ।

अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपण अनुसार विश्व अर्थतन्त्र सन् १९३० को आर्थिक मन्दीपछिकै सबैभन्दा खराब मोडमा पुगेको साथै विभिन्न देशहरुले मानव र बस्तुहरुको स्वतन्त्र आवागमनमा खेलेको भुमिकाले विश्वव्यापीकरणबाट दशकौंको लाभलाई उल्टाउने खतरा देखाएको चेतावनी समेत दियो। साँच्चीनै, विश्वव्यापिकरणको रफ्तार विज्ञान र प्रविधिको विकाससँगै चामत्कारिक रुपमा अगाडी बढदै थियो र नतिजास्वरुप यात्रामा भएको सहजिकरणले कोभिड-१९ लाई पनि छिटो फैलिन मद्दत गर्यो। यो अदृश्य भाईरस ईन्टरनेटको गति भन्दा पनि छिटो घातिय (एक्सपोनेन्सियल) गतिमा फैलियो। फलस्वरुप :  सडकमा तिब्र गतिमा गुडिरहेको कारको चक्कामा अचानक गोलि लाग्यो भने जुन स्थिति सिर्जना हुन्छ त्यस्तै भएको छ विश्वव्यापिकरणको अबस्था। कोरोनाभाईरसको यस अनपेक्षित आक्रमणले यस सम्बन्धमा नकरात्मक धारणा राख्नेहरु भन्दैछन यो प्रकोपले विश्वब्यापीकरणमा पुर्णविराम लगाँउदैछ।

विश्वव्यापि परिस्थिति हेर्दा विगतका महामारी र अहिलेको परिस्थितिमा ठुलो अन्तर छ। शक्तिशाली देशहरु र तिनका सक्षम प्रयोगशालाहरु आफुलाई अब्बल साबित गर्न रातदिन काम गरिरहेका छन। केही राष्ट्रहरु आर्थिक रुपमा क्षति हुने भय र अस्तित्वमा धक्का पर्ने आशंकामा बन्द गरेर समाधान गर्नुभन्दा लडेरै सावित गर्न खोज्दैछन। तेश्रो विश्वका विकासोन्मुख मुलुकहरु यस्तो महामारी भित्रियो भने लड्ने सामर्थ्य विकास नभईसकेको आँकलन गर्दै लकडाउन गरेर बसेका छन। भने कहिँकतै अदृश्य भाईरसको आक्रमणले हुने मृत्यु भन्दा अगावै लकडाउनले निम्त्याउने आर्थिक समस्या जटिल हुने महशुस गरी लकडाउनको विरोध भएको छ। जैविक हतियार भनी आरोप प्रत्यारोप र त्यसका राजनीतिक आयामहरु पनि देखिँदैछन।

विश्व परिवेशमा केहि महिनायता घटेका दृष्टान्तहरुले समेत के दर्शाउन खोज्दैछन भने संकटको समयमा विश्वव्यापी सहयोग र एकताको आदर्श पनि मर्दैछ। विश्वव्यिपकरणका सिद्धान्त, सहयोग र स्वतन्त्र आवागमनका लागि मौलाएका क्षेत्रीय एकताहरु महामारीको समयमा विपरित प्रतिक्रिया देखाएका छन।

महाशक्ति अमेरिकाको कुरा गर्दा मेक्सिको र क्यानाडाको बोर्डर युद्धको समयमा समेत खुल्ला थिए तर अहिले बन्द गरिए। युरोपबाट हुने हवाई यात्रामा प्रतिबन्ध लाँउदा ट्रम्प प्रशासनले युरोपियन सहयोगीहरूसँग परामर्श गर्नु आबश्यक ठानेन। ट्रम्प प्रशासनलाई जर्मनीको खोप अनुसन्धानमा परामर्श बिना नै विशेष अधिकार प्राप्त गर्न खोजेको आरोप लाग्यो। आन्तरिक बजार भित्र मानिस, सामान, सेवा र पूंजीको स्वतन्त्र आवागमन सुनिश्चित गर्ने उद्धेश्यले स्थापना भएको युरोपियन युनियनको सहयोग र एकतालाई कोविड-१९ ले अझ बढी तनावपूर्ण बनायो। इटालीमा महामारी फैँलदो हुँदा फ्रान्स र जर्मनीले इटालीमा सुरक्षात्मक मेडिकल सामाग्रीहरुको निर्यातमा प्रतिबन्ध लगायो। हंगेरी र पोल्याण्डले एकतर्फी आफ्नो सीमा बन्द गर्‍यो। स्विट्जरल्याण्डले आयात गरेको मेडिकल सामाग्रीहरु जर्मनीले जफत गर्यो। विश्वभरिका देशहरूले अहिले मानिसहरुको आवागमन प्रतिबन्ध गरेका छन।

यस्ता उदाहरणहरु हेर्दा त अब विश्वब्यापिकरण र त्यसबाट हुने फाईदाहरुबाट लाभ लिने भन्दा पनि विदेशिहरुलाई खतरा हो भन्ने र मानिसहरुको स्वतन्त्र आवतजावतसंग सम्बन्धित जोखिमहरु को बारेमा नयाँ जागरूकता उठाएको छ नै साथसाथै अर्को कुरा संकटमा परेका देशहरु जहिले पनि आ-आफ्ना छिमेकीहरु सहयोगका लागी सहयोगीको रुपमा भरोसा गर्न सक्दैनन भन्ने कुरा बढाएको छ र विश्वव्यापिकरण अवसानको बाटोतिर लागेको होकि भन्ने अनुमान लगाउन सकिन्छ। विश्वव्यापीकरणको विश्वव्यापी भावना महामारीको अगाडि पनि लुप्त भइरहेको थियो  र अहिले भेट्टाउन गाह्रो परिरहेको  छ।

पक्कैपनि एकपटक महामारीको लहर स्थिर भईसकेपश्चात यी प्रतिबन्धहरू हटाइनेछन र विगतका यी अशुभ र त्रासदीपूर्ण महिनाहरूले विश्वलाई विश्वव्यापिकरणको जोखिम सम्बन्धमा नयाँ पाठ दिनेछन। विश्वव्यापिकरणको त्यो रफ्तारलाई पुन सोही गति र लयमा कुँदाउन पक्कै केही समय लाग्नेछ। आजसम्म जसरी वस्तुहरू, सेवाहरू, पूंजी, व्यक्ति, डाटा, र विचारहरूको विश्वव्यापी आपसमा सम्बन्धले निर्विवाद लाभहरू उत्पादन गरेको थियो तर यस महामारी पश्चात महत्वपुर्ण निर्णय लिनु अगाडि निश्चित रूपमा वैश्विक सम्बन्धका जोखिमहरुलाई एक पटक केलाईनेछ।

वास्तवमा प्रकोप हुनु अघि नै विश्वव्यापिकरणको पतन सुरु भइसकेको थियो। विगत केही समयदेखिनै शक्तिशाली मुलुकहरूमा राष्ट्रिय सीमा सुदृढीकरण गर्ने प्रवृत्ति राजनितिक प्रचारको रुपमा प्रकट हुँदै गएको थियो। बढ्दो असमानता र विश्वव्यापिकरणको प्रगतिबाट जनसंख्याको केही वर्गमा बढ्दो बोझको कारण ब्रेक्सिट, बहुपक्षीय युरोपेली देशहरूमा विदेशी विरोधी भावनाको साथ जनवादको उदय, र ट्रम्प प्रशासनको अमेरिका पहिलो नीतिहरु प्रोत्साहित हुँदै गएका थिए।अहिले यो प्रकोप नाभवादी, राष्ट्रवादी र संरक्षणबादीहरुको लागी उपहार नै भएको छ। कोरोना कहरको उदाहरण दिँदै फेरि एकपटक भन्नेछन सिमामा पर्खाल लगाउनैपर्दछ। जसले गर्दा मानिस र सामानको स्वतन्त्र आवागमनमा दिर्घकालिन असर पार्ने देखिन्छ। लाग्दैछ, विश्वव्यापिकरण र यसको प्रवृत्ती कोरोनाभाइरस महामारी पछि धेरै फरक देखिनेछ।

वैश्विक मन्दी अब निश्चित छ र दिन बित्दै जाँदा कोरोना भाईरसको आर्थिक गम्भिरता स्पस्ट हुँदै जानेछ। चीन केन्द्रित भएर उत्पादनमा लागेका कम्पनिहरु एकपटक सोच्नेछन। दिर्घकालिन परिणामहरु बारेमा सोच्दा व्याक्ति, कम्पनिहरु र सम्भवत सरकारहरु पनि जटिल आकस्मिक सम्झौताको माध्यमबाट आफुलाई बचाउने प्रयास साथै भबिष्यको परिदृश्यमा कसरी लैजानै भनि बहस चल्नेछ। अहिलेनै विश्वव्यपिकरण अबसानको बाटो लागेको अबक्षेपण गरिहाल्नु त उचित  नहोला तर कोमामा चाँहि रहेको छ र यसलाई जगाउन एउटा छुट्टै किसिमको बहस आबश्यक पर्ने देखिन्छ ।

बैश्विक महामारीले विश्वलाई नै आक्रान्त पारिरहेको परिप्रेक्ष्यमा हाम्रोजस्तो अल्पविकसित मुलुकहरुले पनि बिभिन्न क्षेत्रमा मुल्य चुकाउनुपर्नेछ। विशेषत : पर्यटन र रेमिट्यान्सबाट प्राप्त हुने आयमा ठुलै धक्का लाग्ने देखिन्छ। नेपालको रेमिट्यान्स क्षेत्रले हाच्छ्यु गर्दा अर्थतन्त्रमा चिसो लागेको मान्नुपर्ने बाध्यता छ साथै भिजिट नेपाल २०२० मा धेरैभन्दा धेरै पर्यटकहरु भित्र्रयाएर बिदेश मुद्रा आर्जन गर्ने नेपालको सरकारको निति र तयारी चौपट भएको छ। विश्वका विभिन्न कल कारखानाहरु बन्द भईरहेका छन। उत्पादनमा कटौति हुँदै गएको छ। यसले गर्दा आपूर्ति श्रृङ्खलाहरुमा अवरोध भईरहेको छ। विश्वव्यापिकरणको घाम लाग्दै गर्दा वैदेशिक रोजगारिको नाममा ठुलो सँख्यामा नेपालिहरु विविध कारणले विदेशिन बाध्य हुनुपर्यो। अहिले विश्वव्यापिकरण अस्ताउला कि जस्तो परिदृश्यमा रहेको छ र योसँगै विदेशमा भएका नेपालिहरुले रोजगारी गुमाउने छन र पुन स्वदेश फर्कन बाध्य हुनेछन। तत्पश्चात हामिले हाम्रो सिपयुक्त मानब पुँजी व्यावस्थापन गरि सफल अवतरण गर्नुपर्ने हुन्छ। विश्वव्यापिकरणबाट सिर्जित अबसरस्वरुप विदेशमा सिकेका सिप उपलब्धिलाई स्थानीयकरण गर्ने उपयुक्त समय मानी कम चुनौति ज्यादा अवसरको रुपमा लिएर वास्तविक आबश्यकता पहिचान गरि सोहिअनुरुपका नितिहरु तर्जुमा गरि राज्य अगाडी बढ्न सकेमा अबश्य पनि एक स्वाधीन अर्थतन्त्र निर्माणको बाटो तर्फ लाग्नेछौ, जुन सामयिक आबश्यकता पनि हो ।

यो लेख २०७७ बैशाख ३० मा सेतोपाटीमा प्रकाशित भएको थियो । लिङ्क (पुर्ण लेख)


No comments:

Post a Comment